
मंसिर १९ गते, २०८२ (तदानुसार ५ डिसेम्बर २०२५) शुक्रबार। गृह मन्त्रालय, सिंहदरबार, काठमाडौँ, नेपाल।
गोर्खाहरूले वंशजको नेपाली नागरिकताको निरन्तरतासहित आसन्न निर्वाचनमा बेलायतबाटै मतदान गर्न पाउनुपर्ने माग गृहमन्त्रीसमक्ष जोडदार रूपमा राखेका छन्।
सिएनसिबिजी (Continuation of Nepali Citizenship for British Gurkhas) को प्रतिनिधि संस्था भूतपूर्व सैनिक कल्याणकारी समिति, नेपाल (भूपू.सै.क.स.ने.) को प्रतिनिधिमण्डल गत ५ डिसेम्बर २०२५, शुक्रबारका दिन गृह मन्त्रालय, सिंहदरबार पुग्यो। सन् १९४७ को त्रिपक्षीय सन्धिअनुसार बेलायती सेनामा सेवा गरेका र सेवारत गोर्खाहरू तथा निजका सन्ततिहरूको वंशजको नेपाली नागरिकता निरन्तर हुनुपर्ने र आगामी राष्ट्रिय निर्वाचनमा आफ्नो नागरिकताको परिचयपत्र देखाई बेलायतबाटै मतदान गर्ने व्यवस्था मिलाइदिनुहुन सिएनसिबिजीको माग अन्तरिम सरकारका गृहमन्त्री माननीय ओमप्रकाश अर्यालज्यूसमक्ष बुझाइयो। उक्त ज्ञापनपत्र समितिका सचिव तथा वरिष्ठ अधिवक्ता चेत आलेज्यूले पढेर सुनाएपछि अध्यक्ष थापाले गृहमन्त्रीज्यूलाई हस्तान्तरण गर्नुभएको थियो।
ज्ञापनपत्र बुझेपछि गृहमन्त्री अर्यालज्यूले भन्नुभयो, “ब्रिटिस गोर्खाहरू त्रिपक्षीय सन्धिअन्तर्गत बेलायती सेनामा सेवा गरेका हुनाले नेपाल सरकार तपाईंहरूको नागरिकताको निरन्तरता सुनिश्चित गर्नुपर्नेमा सकारात्मक छ। तसर्थ, त्यसका लागि के कति गर्न सकिन्छ, मेरो तर्फबाट मैले सक्दो सहयोग गर्नेछु।”
“त्यस्तै, विदेशमा बस्ने नेपालीले विदेशबाटै मतदान गर्न पाउने गरी व्यवस्था गर्नका लागि सरकारले अध्यादेश ड्राफ्ट गरेर निर्वाचन आयोगमा पठाएको थियो, निर्वाचन आयोगले सहमतिका साथ फिर्ता पठाएको छ। अदालतको आदेश पनि मतदानको व्यवस्था गर्नु भन्ने छ। अब हामी त्यसलाई सरोकारवालाहरू (स्टेकहोल्डर) को सहमति लिएर अगाडि बढाउँछौँ। यसमा गोर्खाहरूको विषय त पर्ने नै भयो। हाम्रो सरकार यस विषयप्रति गम्भीर रहेको र हामीहरू कसरी हुन्छ तपाईंहरूलाई समेट्न प्रयत्नरत छौँ,” गृहमन्त्रीले जवाफ दिनुभएको थियो।
प्रतिनिधिमण्डलको नेतृत्व समितिका अध्यक्ष श्री हुमबहादुर थापाज्यूले गर्नुभएको थियो भने समितिका सचिव तथा वरिष्ठ अधिवक्ता श्री चेत आलेमगर, कोषाध्यक्ष श्री खुनबहादुर राना साथै सिएनसिबिजीको तर्फबाट श्री पूर्णबहादुर राना, श्रीमती प्रितीमाया पुन, श्री प्रितम घले र श्रीमती अम्बिकाकुमारी मगर सहभागी हुनुहुन्थ्यो।
समाचारप्रति आफ्नो प्रतिक्रिया जनाउँदै सिएनसिबिजीका अध्यक्ष थर्क रानाज्यूले यो महत्त्वपूर्ण भेटघाटको सम्पूर्ण व्यवस्था मिलाउने भूपू.सै.क.स.ने.का अध्यक्ष थापा र सचिव आलेज्यू साथै आफ्नो व्यस्त समयका बाबजुद पनि मागलाई धैर्यपूर्वक सुनेर सकारात्मक रूपमा लिई आफ्नो तर्फबाट सहयोगको आश्वासन दिनुभएकोमा माननीय गृहमन्त्रीज्यूलाई धन्यवाद दिनुभएको छ।
अध्यक्ष रानाले भन्नुभयो, “हामी गृहमन्त्रीज्यूको आश्वासनमा भर परेर मात्र बस्नेवाला छैनौँ। स्मरणीय रहोस्, गत नोभेम्बर २१, २०२५ का दिन सिएनसिबिजीले यसै सम्बन्धमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई नेपाली राजदूतावास, लण्डनमार्फत ज्ञापनपत्र पठाएको छ। उक्त ज्ञापनपत्रको जवाफ हामी केही समय पर्खेर हेर्छौँ। यो अभियान जस्तोसुकै परिस्थितिमा पनि निरन्तर रहनेछ, जसको जवाफ हामीले पाउनैपर्छ।”
अन्तमा, अध्यक्ष रानाले सम्पूर्ण गोर्खा साथै गोर्खाका सन्ततिहरूलाई आफ्नो नैसर्गिक अधिकारको सुनिश्चितता गर्न यस अभियानमा सहभागी भई आफ्नो तर्फबाट नैतिक, भौतिक तथा आर्थिक सहयोग गर्नुहुन सिएनसिबिजीको तर्फबाट हार्दिक अपिल गर्नुभएको छ।
दल बहादुर बुढाथोकी सम्पर्क: 00447449844291


